निर्वाचन सुरक्षाको लागि ७४ हजार ८४९ सैनिक खटिए

काठमाडौं । नेपाली सेनाले तीन ठाउँमा हवाईजहाज चौबिसै घन्टा तयारी अवस्थामा राखेर निर्वाचनको सुरक्षामा सघाइरहेको छ। सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार इटहरी, पोखरा र सुर्खेतमा निर्वाचनको सुरक्षालगायत कामका लागि हेलिकोप्टर राखिएको छ।

आवश्यकअनुसार काठमाडौँ, बर्दिबास, धनगढीलगायत क्षेत्रमा पनि राखिने उनको भनाइ छ । सरकारले दिएको म्यान्डेटअनुसार निर्वाचनको दिन सेनाले अति संवेदनशील रहेका मतदानस्थलमा हवाई गस्ती गर्ने प्रवक्ता सिलवालले बताए।

निर्वाचनमा ७४ हजार ८४९ सैनिक खटिएका छन्। कुनै पनि मतदानस्थलमा ३० मिनेटभित्र पुग्न सक्ने गरी सेनालाई निर्वाचनमा परिचालन गरिएको सैनिक प्रवक्ता सिलवालले बताए। कुनै स्थानको सुरक्षा अवस्था प्रहरीको नियन्त्रणबाहिर गएको अवस्थामा सेना मतदानस्थलको सुरक्षामा खटिनेछ। अन्य अवस्थामा सेनाको भूमिका निर्वाचनमा ब्याकफोर्सका रूपमा हुनेछ।

सेनाले निर्वाचनलक्षित सुरक्षा गस्ती भने ४ कात्तिकदेखि नै गर्दै आएको छ। साथै यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएको विमानस्थल, कारागार तथा महत्वपूर्ण संरचनाको सुरक्षामा पनि सेना खटिएको छ। यस्ता एक सय ११ स्थानमा सेनाले सुरक्षा जिम्मेवारी लिएको छ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here