काठमाडौं । किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीले आज पनि तेस्रो पटक म्याद थप्ने तयारी गरेको छ ।
सन्दीपविरुद्ध दोस्रो पटक हिरासतमा राख्न अदालतसँग लिइएको पाँच दिनको अनुमति मंगलबार सकिए पनि सार्वजनिक बिदा परेकाले आज म्याद थपिन लागेको हो ।
बलात्कार आरोपमा गत असोजमा त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका सन्दीपविरुद्ध प्रहरीले फेरि म्याद थप्न खोजेको हो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार म्याद थपको लागि अदालतमा बुझाउने तयारी भएको छ ।
अनुसन्धान गर्न थप समय आवश्यक भएकाले हिरासतमा राख्न अनुमति मागिने एसपी मैनालीले बताए । प्रहरी वृत्त, गौशालाबाट सन्दीपविरुद्धको मुद्दाको अनुसन्धान अगाडि बढेको छ ।