काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै गोरुगाडावालाहरु देशलाई अझै प्रतिगमन र अराजकतातिर जाने योजनामा रहेको बताएका छन् ।
ललितपुरमा सत्ता गठबन्धन दलले आज गरेको चुनावी परिचालन अभियानलाई सम्बोधन गर्दै प्रचण्डले गोरुगाढा प्रवृत्ति भएकाहरू अझै पनि प्रतिगमनतर्फ अघि बढेकाले त्यसलाई पराजित गर्न सत्ता गठबन्धन बनेको बताएका हुन्।
’१२ बुँदे सम्झौतामा कांग्रेसका तर्फबाट गिरिजाप्रसाद कोइरालाले र एमालेबाट माधव नेपाल र माओवादीबाट मैले हस्ताक्षर गरेका हौँ। गोरुगाढा प्रवृत्तिविरूद्ध लड्न अहिले १२ बुँदे पक्षधर एकै ठाउँमा उभिएका हौँ,’ प्रचण्डले भने ।
ओलीलाई इंगित गर्दै प्रचण्डले नेपालमा गणतन्त्र ल्याउने भनेको वयलगाडामा चढेर अमेरिका जानु जस्तै भनेको उल्लेख गरे । देश संघीय लोकतान्त्रिक गणतन्त्र भई संविधान घोषणा हुँदासम्म हिजोका गोरुगाडावाला सिद्धान्त बोकेका नेताहरू नबदलिएको उनले बताए ।