काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएकी छन् ।
ट्वीट गर्दै राष्ट्रपतिले भनेकी छन्, ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ ।’
राष्ट्रपति भण्डारीले सत्यमोहनको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि उल्लेख गरेकी छन् ।
जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।
पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनी पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत थिए ।