काठमाडौं – आजबाट नेपाली चलचित्र ‘प्रेमगीत ३’ प्रदर्शनमा आएको छ। हिन्दी भाषामा समेत डब भएको सिनेमा अंग्रेजी सबटाइटलसमेत गरेर आजबाट भारतसहित विश्वभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो।
हिन्दी डबको ‘प्रेमगीत ३’ नेपालमा भने घटस्थापनाबाट मात्र प्रदर्शनमा आउनेछ। निर्माण कम्पनीले चलचित्र विकास बोर्डमा कर चुक्ताको कागजात पेश नगरेकाले सिनेमाको हिन्दी डबको सेन्सर रोकिएको थियो।
फिल्मले नृपालका अधिकांश सिंगल हलमा तथा मल्टीप्लेक्सहरुमा सर्वाधिक शो पाएको छ। त्यस्तै विश्वभरका १२ सय बढी पर्दामा रिलिज भएको हो।
छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको सिनेमामा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ। फिल्मलाई सन्तोष सेनले निर्माण तथा निर्देशन गरेका हुन्।
फिल्म अष्ट्रेलियामा पनि प्रदर्शन भएको छ। यसअघि फिल्म हल बुकिङ गरेर नेपाली चलचित्र प्रदर्शन हुँदै आएको भए पनि यस पटक भने अंग्रेजी र हिन्दी फिल्ममा जसरी हलको शो समयमै हेर्न पाइने भएको हो।