भदौ २४,काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई रुपान्तरण जरुरी गर्नुपर्ने आवश्यकता औल्याएका छन्। शुक्रबार सुन्दरीजलमा कांग्रेस संस्थापक नेता एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १०९ औँ जन्मजयन्तीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
महामन्त्री शर्माले ७० वर्षदेखि एउटा धारामा बगेको दललाई निरन्तर्तामा नविनता थपेर अघि बढाउन आवश्यक रहेको बताए। उनले विगतका कमी कमजोरीलाई आत्मलोचना गरी रुपान्तरित कांग्रेस बनाउनका लागि चालिएका कदमको समीक्षा गर्न आवश्यक भएको बताए।
उनले नेपाली कांग्रेसलाई एकातिर बदलिएको बलियो कांग्रेस बनाउने दायित्व रहेको र अर्कोतिर अहिलेको राष्ट्रिय राजनीतिको प्रतिकुलताको बीचमा नेपाली कांग्रेसलाई बलियो दलको रुपमा बहुमतको लक्ष्य लिएर अघि बढ्न जरुरी रहेको बताए।
उनले ५ वर्षको सरकारको कुरा नभइ १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्ने बताए। उनले आगामी निर्वाचनको घोषणापत्रमा सबै पक्षलाई समेटर घोषणापत्र बनाउने बताए। महामन्त्री शर्माले नेपाली कांग्रेस उज्यालो अनुहार बनाएर मंसिर ४ गते नेपाली कांग्रेस पार्टीलाई बलियो दलको रुपमा बहुमत लक्षित दलको रुपमा स्थापित गर्न अग्रसर हुने बताए।
महामन्त्री शर्माले नेपाल अहिले श्रीलंकाको बाटोमा नरहेको उल्लेख गर्दै श्रीलंकाको बाटोमा छ भन्नु भ्रम बाहेक अरु नभएको जिकिर गरे। उनले नेपाल देशले सामाजिक न्याय शैलीको उदार अर्थ व्यवस्थाको बाटोबाट कसरी जनताको अनुहारमा खुशी ल्याउन सकिन्छ भन्ने कुरामा कांग्रेस अघि बढ्ने बताए।