भदौ २०, काठमाडौं ।
क्यानडामा छुरा प्रहारबाट १० जनाको मृत्यु भएको छ। मध्य सास्काचेवान प्रान्तमा भएका घटनामा १५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा अन्धाधुन्ध छुरा आक्रमण भएको हो। ३१ वर्षीय ड्यामियन स्यान्डरसन र ३० वर्षीय माइन्लस स्यान्डरसन छुरा प्रहारको घटनाका संलग्न रहेको प्रहरीले आशंका गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमको समाचारमा उल्लेख छ।
घटनाका दुवै शंकास्पद आरोपी फरार रहेकोले उनीहरुको खोजी भइरहेको छ। फरार अभियुक्त हतियारधारी रहनुका साथै निकै खतरनाक रहेको क्यानेडियन प्रहरीले जनाएको छ। प्रहरीले आरोपितलाई पक्राउ गर्नका लागि सर्च अभियान तिब्र पारेको छ।
घटना भएको क्षेत्रका बासिन्दालाई प्रहरीले सुरक्षा सतर्कता अपनाउन भन्दै घर भित्रै रहन आग्रह गरेको छ। जेम्स स्मिथ क्री नेसनमा आपतकाल घोषणा गरिएको छ।