भदौ १८, एजेन्सी ।
श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे शुक्रबार राति सिंगापुर एयरलाइन्सबाट स्वदेश फर्किएका छन् । ७३ वर्षीय राजापाक्षे बैंककबाट सिंगापुर हुँदै ७ हप्तापछि श्रीलंका फर्किएका हुन् ।
कोलम्बो आइपुगेपछि बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई विभिन्न मन्त्रीले स्वागत गरेका थिए ।
उनलाई कडा सुरक्षाबीच विमानस्थलबाट बाहिर निकालिएको थियो ।
श्रीलंकामा चरम आर्थिक संकटको बीचमा श्रीलंकामा तत्काल राजिनामाको माग गर्दै महिनौंदेखि चलेको विरोध प्रदर्शन ९ जुलाईमा हिंसात्मक बनेपछि राजापाक्षे जुलाई १३ मा देश छोडेर भागेका थिए।
त्यसबेला प्रदर्शनकारीहरूले कोलम्बोमा रहेको राष्ट्रपतिको निवाससहित अन्य धेरै सरकारी भवनहरूमा आक्रमण गरेका थिए।
उनीहरु कहाँ बस्ने भन्ने अझै स्पष्ट भइसकेको छैन । तर, पूर्वराष्ट्रपतिका रूपमा राजापाक्षे सरकारी बंगला र अन्य सुविधाको हकदार छन्।
गोताबाया राजापाक्षे यसअघि कोलम्बोबाट श्रीलंका वायुसेनाको विमानबाट माल्दिभ्स गएका थिए। माल्दिभ्सपछि उनी सिंगापुर गए, जहाँबाट उनले १४ जुलाईमा राजीनामा पठाएका थिए ।