उपसभामुखमा सत्तारुढ गठबन्धनबाट कांग्रेसकी भुसालले मनोनयन दर्ता गराइन्

असार ३०, काठमाडौं ।
नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् । केहीबेरअघि संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् ।

भुसाल पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार हुन् । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार उपसभामुख निर्वाचनका लागि ३१ असारमा मतदान गर्ने कार्यसूची सार्वजनिक गरेका थिए । सोहीअनुसार कांग्रेस नेतृ भुसालले मनोनयन दर्ता गरेकी हुन् ।

भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरी छिन् । प्रमुख प्रतिपक्ष एमालेले भने उपसभामुखको मनोनयन दर्ता गर्ने कि नगर्ने भन्ने कुनै निर्णय गरिसकेको छैन ।

दुई वर्षअघि उपसभामुख शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको छ । यो संसदको कार्यकाल मात्र चार महिना बाँकी छँदा उपसभामुखको निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here