असार ११, काठमाडौं
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले कांग्रेसलाई हेर्ने आफ्नो दृष्टिकोण बदलिएको बताएका छन् ।
शनिबार अभियानको दोस्रो राष्ट्रिय भेलालाई संम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतमले कांग्रेस र कम्युनिस्ट पार्टीहरू मिल्दा मात्रै नेपालमा परिवर्तन र विकास सम्भव भएको बताएका हुन् । ‘पहिले हामीले नेपाली कांग्रेसलाई गाली गर्यौँ । यो दलाल पुँजीपतिहरूको पार्टी हो भनेर भन्यौँ । तर नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी नमिल्दा सम्म कहिल्यै पनि जनताले अधिकार पाएनन् ।’ उनले भने ।
साथै उनले थपे- ‘सबैभन्दा पहिले २०४७ सालमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र पुनस्स्थापना भयो । त्यसपछि कांग्रेस र कम्युनिस्ट मिले, राजतन्त्र समाप्त भयो र संवैधानिक लोकतान्त्रिक गणतन्त्र स्थापना भयो ।’
गौतमले स्थानीय निर्वाचनमा कांग्रेस पहिलो शक्तिको रुपमा उदाएकोले अब तीन पार्टी एक हुनुपर्ने बताए। नेपाली कांग्रेस प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि बलियो हुनेसमेत उनले बताए। ‘प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन भए कांग्रेस बलियो हुन्छ। त्यसपछि पाँच वर्ष कांग्रेसले सरकार चलाउँछ। अनि त्यसपछि कांग्रेसलाई गठबन्धन आवश्यकता हुँदैन,’ गौतमले भने, ‘अनि कम्युनिस्ट ओरालो लाग्छ। भारतीय कम्युनिस्ट आन्दोलनको हालत हुन्छ।’