असार ०४,काठमाडौं,
प्रदेश १, मधेश र बागमती प्रदेशका थोरै स्थानमा शनिबार बिहान मेघगर्जन र चट्याङसहित वर्षा भएको छ। अहिले पनि ती प्रदेशका केही स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए।
उनका अनुसार गण्डकी र कर्णाली प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा सामान्यदेखि आंशिक बदली रहेको छ।
दिउँसो पनि देशैभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिमको थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ।
प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा राति भारी पानी पर्ने सम्भावना छ। अन्य प्रदेशमा पनि हल्का पानी पर्ने विभागले जनाएको छ।
यी प्रदेशका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्क रहन विभागले सचेत गराएको छ। साथै नदी नाला र खहरे खोलामा पानीको सतह बढ्दा यातायात क्षेत्र प्रभावित हुनसक्ने विभागले जनाएको छ।
हाल नेपालको प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ। अन्य प्रदेशका भू-भागमा भने स्थानीय वायु तथा भारतको उत्तरप्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्युन चापीय रेखाको प्रभाव छ।