कांग्रेसको एकलौटी सरकार होइन, चाहे अनुसार काम गर्न सक्ने अवस्था छैन् : प्रम देउवा

जेठ २९, काठमाडौं
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।

नेपाल टे«ड युनियन कांग्रेसको आइतबारबाट काठमाडौं सुरु राष्ट्रिय सम्मेलनमा उनले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरुको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको बताए ।

प्रधानमन्त्री देउवाले नेपालको संविधान र कानूनले श्रमिकहरुको हक अधिकारलाई सुनिश्चित गरेको भन्दै त्यसलाई कार्यान्वयन गराउन सरकार प्रतिवद्ध रहेको बताए ।

रुस–युक्रेन युद्धले श्रम बजार प्रभावित भइरहेकाले श्रमिकहरुको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षले ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले विपन्न र अनौंपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुको हितका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको बताए ।

प्रधानमन्त्री देउवाले श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाए । सामाजिक सुरक्षा कोषबाट सबैभन्दा बढि श्रमिकहरुलाई नै लाभान्वित हुने विश्वास आफुले लिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here