बर्दिया घटना कुनै जाति विशेषलाई लक्षित गरेर गोली प्रहार नभएको गृहमन्त्रीको प्रष्टीकरण

जेठ २४ काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाणले बर्दियाको मधुवनमा प्रहरीको गोली लाग्दा भएको नवीना थारुको मृत्यु घटनाबारे गठित समितिले निष्पक्ष ढंगले छानबिन गर्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले स्थानीय समुदाय, जनप्रतिनिधि र सर्वदलीय संयन्त्रले पनि घटनाको छानबिन गर्न माग गरेको र सोहीअनुसार समिति गठन गरिएको जानकारी दिए ।

गृहमन्त्री खाँणले घटनालाई दुःखद् र जाति विशेषलाई लक्षित गरेर गोली प्रहार नभएको पनि स्पष्ट पारे ।घटनाले संवेदनशील ठानिएर नै सरकार उत्तरदायी भएर समिति गठन गरिएको भन्दै उनले समितिले बुझाउने प्रतिवेदनको आधारमा संलग्नलाई कारबाही हुने आवश्यक बताए ।

उनले भने- ‘नागरिकहरुको यस्तो अवरोधमा गोली प्रहार गर्ने आदेश नै छैन । सम्झाई बुझाइ गर्ने, कमभन्दा कम शक्ति प्रयोग गर्ने भनेका छौं । सीडीओले पनि आदेश दिएको छैन भन्नु भएको छ । जसले गल्ती गरेको छ, त्यसअनुसार कारबाही गर्ने प्रतिवद्धता जनाउन चाहन्छु ।’

सरकारले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरेको छ । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि आन्दोलनमा उत्रिएका बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजार क्षेत्रका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा थारुको हिजो मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here