१४ माघ, काठमाडौं
काठमाडौं उपत्यकामा ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाइएको छ।
उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बसेको बैठकले शुक्रबार राति १२ बजेदेखि नै लागु हुनेगरी सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सार्वजनिक सवारी साधनमा जोरविजोर हटाइएको बताउँदै निजी र ट्याक्सीमा जोरविजोर बाँकी रहेको बताए । नागरिकहरूको गुनासो भएकाले यस्तो निर्णय गरिएको उनले बताए ।
यसअघि कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले मन्त्रिपरिषद्बबाट निर्णय गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो ।
सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीबाट जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।