वैदेशिक रोजगार प्रहरी एकाइ स्थापना गर्न प्रस्ताव

१४ माघ, काठमाडौं
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन छुट्टै प्रहरी राख्ने प्रस्ताव गरेको छ।

भिजिट भिसामा विदेशमा गएर अलपत्र पर्नेको संख्या बढेको गुनासो आएसँगै वैदेशिक रोजगारलाई व्यवस्थित गर्न यस्तो प्रस्ताव गरिएको मन्त्रालयले दावी गरेको छ। श्रममन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल प्रहरीअन्तर्गतको पर्यटक प्रहरीजस्तै वैदेशिक रोजगार प्रहरी एकाइ स्थापना गर्न प्रस्ताव गरेको हो।

मन्त्रालयले सो प्रस्ताव गृह मन्त्रालय पठाइसकेको मन्त्री श्रेष्ठका प्रेस सल्लाहकार तेजप्रसाद वाग्लेले जानकारी दिए। मन्त्री श्रेष्ठले आफ्नो कार्यकालको सयदिने प्रगति विवरणमा पनि वैदेशिक रोजगारसम्बन्धी समस्या हेर्ने गरी छुट्टै प्रहरी एकाइ गठन गर्ने तयारी अघि बढाइएको उल्लेख गरेका थिए।

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार मामिला हेर्ने छुट्टै प्रहरी एकाइको आवश्यकता देखिएको मन्त्रालयको ठहर छ। एकाइ खडा भएपछि वैदेशिक रोजगार विभागलाई म्यानपावर कम्पनीको अनुगमन, ठगी मुद्दाको अनुसन्धान र दोषीविरुद्ध अभियोगपत्र तयार गर्नेलगायतमा सहज हुने मन्त्रालयको विश्वास छ।

अहिले विभागले म्यानपावर कम्पनीको अनुगमन गर्दा सम्बन्धित क्षेत्रमा रहेका प्रहरी एकाइसँग सहयोग लिने गरेको छ। हाल पीडितले उजुरी गर्दा समस्या भोग्नु परिरहेको छ। विभागले पीडितका समस्या तत्कालै समाधान गर्न सक्दैन। त्यसैले छुट्टै प्रहरी एकाइ स्थापना भए वैदेशिक रोजगारमा ठगिएकालाई छिटो न्याय दिलाउन सकिने मन्त्रालयको जिकिर छ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here