१२ माघ, काठमाडौ
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले भूगर्भ विभागका महानिर्देशक घिमिरेसहित सुपरीटेन्डेन्ट माइनिङ इन्जिनियर जयराज घिमिरे, कानुन उपसचिव सपना अधिकारी, उपन्यायाधीवक्ता चन्द्रकुमार पोखरेल, सिनियर डिभिजनल मेकानिकल इञ्जिनियर प्रशान्त बोहरा, सिनियर जिओलोजिस्ट धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी र जिओलोजिष्ट डा. सौनक भण्डारी विरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
यसैगरी, सर्वोत्तम सिमेन्टका प्रबन्ध सञ्चालक विष्णुप्रसाद न्यौपाने, सिद्धार्थ मिनरल्स प्रालिका पशुपति मुरारका, मारुती सिमेन्टका शरद गोयल, अन्नपूर्ण कोएरिज प्रालिका ऋषि अग्रवाल, उदयपुर मिनरल्स टेक प्रवलजंग पाण्डे, युनाइटेड सिमेन्ट प्रालिका नरेश दुगढ, सोनापुर मिनरल्स प्रालिका निपेश टायल, कञ्चल कोयरिज प्रालिका भीमबहादुर थापा क्षेत्री र दोलोमाइट चुनढुंगा प्रालिका सञ्चालक मानबहादुर श्रेष्ठविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको भण्डारीले जानकारी दिए।
उनीहरुमाथी खानी तथा चुनढुंगा दोहनमा सञ्चालकसँग मिलेमतो गरी एक अर्ब २४ करोड ३५ लाख २६ हजार ६४३ बराबरको राजश्व चुहावट गरेर भ्रष्टाचार गरेको आरोप छ । उनीहरूसँग सोही बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रकाश भण्डारीले जानकारी दिए।
भण्डारीका अनुसार २०७४ सालमा खानी तथा चुनढुंगा उद्योगहरूले दोहन गरेको आरोप लागेको थियो। आरोपमाथि छानबिन समिति गठन गर्न विभागका सुपरीटेन्डेन्ट माइनिङ इन्जिनियर घिमिरेको संयोजकत्वमा समिति गठन भएको थियो। चुनढुंगा उद्योगीहरूले कानुनसम्मत रूपमा तिर्नुपर्ने जरिवानालगायत नतिराइ उन्मुक्ति दिएको आरोप लागेको थियो।