३० साउन, काठमाडौं
प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् सिटिईभिटीले शैक्षिक सत्र २०७८÷२०७९ मा निःशुल्क छात्रवृति छनौटका लागि आवेदन खुला गरेको छ ।
डिप्लोमा तथा प्रमाणपत्र तहको स्वास्थ्य, इन्जिनियरिङ, वन तथा पशु विज्ञान लगायतका विषयमा २९ सय ७२ जनाका लागि आवेदन खुलाइएको छ ।
सिटिईभिटीले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रबृत्ति एवं भर्ना सम्बन्धि निर्देशिका २०७४ (चौथो संशोधन) बमोजिम परिषदबाट सञ्चालन सम्बन्धन स्वीकृति प्राप्त आंगिक, साझेदारी, सामूदायिक तथा निजी शिक्षण संस्थाहरुमा निर्धारण गरिएका बर्गिकृत (निशुल्क) छात्रबृत्ति कोटामा भर्नाका लागि आवेदन माग गरेको हो ।
आवेदन भदौ २२ गतेभित्र भर्न सकिनेछ । आवेदकले मुलुकभरिको कुनै एक प्रदेशको एउटा कार्यक्रममा मात्र आवेदन दिन पाउनेछन् । एकभन्दा बढी प्रदेश वा कार्यक्रममा आवेदन फारम भरेको पाइए स्वतः रद्ध हुने पनि सिटिईभिटीले जनाएको छ ।