३० साउन, काठमाडौं
करोडौं रुपैंया ठगी गरेर फरार रहेका एक व्यक्तिलाई इन्टरपोलको टोलीले पक्राउ गरी पोर्चुगलबाट नेपाल ल्याएको छ ।
बैंकिङ कसुर तथा विभिन्न व्यक्तिबाट करोडौँ रूपैयाँ ठगी गरेर पोर्चुगल फरार भएका काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–१ का केदार ढुङ्गानालाई नेपाल प्रहरीको इन्टरपोलको टोलीले पोर्चुगल पुगेर पक्राउ गरि शनिबार नेपाल ल्याएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार ढुङ्गानाविरूद्ध जिल्ला अदालत काठमाडौं र ललितपुर तथा उच्च अदालत पाटनमा ठगी, बैंकिङ कसूर तथा सरकारी कागजात किर्तेका ३१ वटा मुद्दा दायर भएका छन् ।
ब्यूरोका अनुसार ढुङ्गाना र नारायण बहादुर श्रेष्ठसहित १२ जनाले देवः विकास बैंक लिमिटेडको काठमाडौं र ललितपुरका विभिन्न शाखा कार्यालयहरूमा विभिन्न सवारी साधनहरू सुरक्षण बापत बैंकको नाममा पास गरी सवारी साधन कर्जा बापत दुई करोड २ करोड ७१ लाख ७६ हजार लिई ठगी गरेका थिए ।
ब्यूरोको टोलीले ठगी प्रकरणमा काभ्रेको भुम्लु गाउँपालिका–१ का नारायणबहादुर श्रेष्ठ, सोही वडाका सदस्यसमेत रहेका बालकृष्ण श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठ, नवीन श्रेष्ठ र काभ्रेकै चौबास–४ घर भएका कृष्णबहादुर खत्रीलाई पक्राउ गरेको थियो ।
त्यस्तै पर्साको वीरगञ्ज घर भई ललितपुरको ज्वागल बस्ने नरेशमान सिंह (बैङ्कका भ्यालुएटर) र काठमाडौं महानगरपालिका–२३ सरिनशंकर श्रेष्ठ (देव विकास बैङ्कका तत्कालीन ब्राञ्च म्यानेजर) लाई पनि प्रहरीले पक्राउ गरेको थियो । घट्नाका मुख्य योजनाकार ढुङ्गाना युरोपमा बिजनेस गरेर बसिरहेका थिए ।
उनलाई पक्राउ गर्न अन्तराष्ट्रिय स्तरमा खोज तलास एवं पक्राउ गर्न प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले युएइको केन्द्रीय अनुसन्धान ब्यूरोसँग समन्वय गरी पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । ढुङ्गानालाई फैसला कार्यान्वयनको लागि आइतबार ललितपुर जिल्ला अदालतमा पेश गरिने उनले बताए ।