कर्णालीमा बजेट कार्यान्वयनकाे आकार बढाउन कार्यसम्पादन सम्झौता

३० साउन, काठमाडौं
कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयनको आकार बढाउने तयारीमा जुटेको छ । यसका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभागीय मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

चालु आर्थिक वर्षमा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने लक्ष्यका साथ मुख्यमन्त्री शाहीले कार्य सम्पादन सम्झौता गरेका हुन् ।

मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपाली, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र जलस्रोत तथा उर्जामन्त्री दीनबन्दु श्रेष्ठसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

स्वास्थ्य समस्याका कारण समाजिक विकासमन्त्री यज्ञबहादुर बिसी भने कार्यक्रममा सहभागी हुन नसकेको बताइएको छ । कर्णालीमा अहिले आठ वटा मन्त्रालय छन् । मुख्यमन्त्री शाहीले गत आर्थिक बर्षमा सम्झौताअनुसार बजेट कार्यान्वयन उपलब्धिमुलक भएकाले यस वर्ष पनि यसको सुरूवात गरेको बताए ।

उनका अनुसार गत आर्थिक बर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गरिसक्ने गरी सम्झौता गरेकामा प्रदेश सरकारले ६७ प्रतिशत रकम खर्च गर्न सफल भएको थियो । ‘यस वर्ष हामीले शतप्रतिशत नै बजेट खर्च गर्ने लक्ष्यका साथ सम्झौतालाई निरन्तता दिएका हौं’ मुख्यमन्त्री शाहीले भने ।

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३६ अर्ब बढीको बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here