माओवादी बैठकः राष्ट्रिय सम्मेलन पुस दाेस्राे साता गर्ने अध्यक्षको प्रस्ताव

३० साउन, काठमाडौं
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकमा राष्ट्रिय सम्मेलन आगामी पुसमा गर्ने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी बैठक शनिबारदेखि सुरु भएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म गर्न प्रस्ताव गरेका हुन् । अध्यक्षको प्रस्तावमा भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण तथा असोज १० गते देशैभर एकै दिन सेल र टोल भेला गर्ने उल्लेख छ ।

यस्तैगरी, असोज २० गते वडा सम्मेलन, असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन र मंसिर १५ गते प्रदेश सम्मेलनको आयोजना गर्ने प्रस्ताव गरिएको छ ।

बैठकमा प्रचण्डले अहिलेसम्मको राजानीतिक परिस्थितिबारे जानकारी गराएर विधान संशोधन प्रस्ताव र राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार राजनीतिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्नका लागि केन्द्रीय कमिटीका सदस्यलाई ८ समूहमा विभाजित गरेर छलफल सुरु गरिएको छ सबै समूहबाट रिपोर्ट आएपछि अध्ययन गरेर बैठकले निर्णय लिने प्रवक्ता श्रेष्ठले बताए ।

बैठक आइतबार ११ बजे फेरि बस्नेगरी सकिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here