आजबाट नेकपा माओवादीको केन्द्रीय बैठक सुरु

३० साउन, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शनिबारबाट सुरु हुने भएको छ ।

आजबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन एवं सांगठनिक प्रतिवेदन पेश गर्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी संगठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको कार्यदिशामा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने, संविधानको रक्षा र कार्यान्वयनका लागि बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने, पार्टीले सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरुको मोर्चा बनाउन पहल गर्ने गरी अध्यक्ष दाहालको राजनीतिक तथा सांगठानिक प्रतिवेदन आउनेछ ।

माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नो तर्फबाट अधिकतम प्रयास गर्ने भएको छ ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका हुन् ।

शुक्रबार अपरान्ह पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै उनले आफ्नो पार्टीसहितको बाम–लोकतान्त्रिक सरकारलाई सफल बनाउन अवको चार महिना केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका हुन् ।

सरकारलाई सफल बनाउनका लागि अवको चार महिना केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई अध्यक्ष दाहालले निर्देशन दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘यो चार महिनाको अवधिमा राजनीतिक रुपमा बाम–लोकतान्त्रिक सहकार्यको सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन गर्ने, अरु सबै प्रकारका राष्ट्रियतालाई कमजोर पार्ने प्रवृत्ति विरुद्धको संघर्षलाई अघि बढाउने दिशामा अघि बढन अध्यक्ष कमरेडले निर्देशन दिनु भएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here