खोप केन्द्रमा जान नसक्नेलाई घरमै गएर खोप दिन सर्वाेच्चकाे अन्तरिम आदेश

२९ साउन, काठमाडौं
सर्वोच्च अदालतले खोप केन्द्रमा जान असमर्थ नागरिकहरुलाई घरमै गएर कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरुलाई घरमै गएर खोप दिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

‘राज्यले वडा वडा स्तरबाट लगत संकलन गरि वा उपयुक्त माध्यमबाट पहिचान गरी घर घरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउन कार्यक्रम र मनासिव समय तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरि संवैधानिक दायित्वको निर्वाहको लागि कार्यक्रम संचालन गर्नु गराउनु’ सर्वोच्चले आदेशमा भनेको छ ।

खोप केन्द्रसम्म पुग्न नसक्ने नागरिकहरुलाई घरघरमा गएर कोरोनाको खोप दिनुपर्ने माग गर्दै अधिवक्ता प्रवेश केसीले रिट दायर गरेका थिए ।

सर्वोच्चले लोक कल्याणकारी राज्यको हैसियतले संविधानको धारा ३५ (३) ले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक र धारा ४१ ले जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने भनि मौलिक हकको प्रचलनको लागि संवैधानिक उपचारको हकसमेत सुरक्षित गरेको स्मरण गराएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here