ओलीबिरुद्ध मातृका यादवको शब्दप्रति एमालेको आपत्ति, संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन

२९ साउन, काठमाडौं
प्रतिनिधिसभाको बैठकमा एमाले अध्यक्षविरुद्ध माओवादी केन्द्रका नेता मातृक यादवले बोलेको शब्दहरु रेकर्डबाट हटाइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध यादवले प्रयोग गरेका असंसदीय शब्दहरू संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् । शुक्रबार बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले यादवको बोलिलाई लिएर अवरोध गरेका थिए ।

बिहीबार विशेष समयमा बोल्दै यादवले निवर्तमान प्रधानमन्त्रीसमेत रहेका ओलीले दम्भ देखाएर प्रधानमन्त्री बन्नकै लागि गठबन्धन, आन्दोलन र पार्टी समेत बर्बाद पारेको आरोप लगाउंदै ओलीको मानसिक तथा शारिरिक स्वास्थ्य अवस्थाबारे टिप्पणी गरेका थिए ।

त्यसक्रममा यादवले प्रयोग गरेका संसद नियमावली प्रतिकुल हुने शब्दहरू हटाउन सभामुखले आज निर्देशन दिएका हुन् ।  ‘माननीय मातृका यादवले संसदको हिजोको विशेष समयमा बोल्ने क्रममा प्रयोग गर्नुभएको मेन्टल्ली फिजिकल्ली रुपमा फिट हुनुहुन्न भन्ने शब्दहरू प्रतिनिधिसभा नियमावलीको नियम २१ खण्ड (ङ) को प्रतिकुल देखिएकाले संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु,’ सापकोटाले भने ।

सभामुखको रुलिङपछि एमालेले बैठक संचालन गर्न दिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here