लुम्बिनीले नयाँ बजेट ल्याउने

२९ साउन, बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शंकर पोखरेल नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट संशोधन गरेर नयाँ ल्याउने बताएका छन् ।

मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नयाँ सरकार आएपछि अघिल्लो सरकारको बजेट र नीति तथा कार्यक्रम संशोधन स्वभाविक हुने बताए ।

‘नीति तथा कार्यक्रम र बजेट संशोधन गरेर नयाँ आउँछ, त्यसलाई अन्यथा लिनुपर्दैन,’ मुख्यमन्त्री केसीले भने, ‘जुन पार्टीले संविधानको सर्वोच्चतालाई अपहेलना गरेर अध्यादेशबाट बजेट ल्यायो त्यसलाई स्वीकार्ने प्रश्नै हुन्न ।’

केन्द्रमा केपी ओलीले जस्तै प्रदेशमा शंकर पोखरेलले पनि संसदबाट भागेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक काम गरेकाले लोकतन्त्र र संसदीय पद्दतिलाई सही ट्रयाकमा ल्याउन पनि प्रदेशसभाबाट नयाँ बजेट ल्याइने केसीले बताए ।

सरकारले तत्कालै नियमित अधिवेशन बोलाएर विश्वासको मत लिने मुख्यमन्त्री केसीले बताए । ‘छिटै नियमित अधिवेशन बोलाउँछौं, त्यसमा नियमित विधेयकहरु ल्याउँछौं र सँगै विश्वासको मत पनि लिन्छौं,’ उनले भने ।

माओवादी केन्द्रका नेता केसी बिहीबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले सात सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here