२८ साउन, काठमाडौं
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काले निर्वाचन निर्देशिका प्रस्तुत गरेका छन् ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसमितिमा महामन्त्री खड्काले केन्द्रीय निर्वाचन समितिले पारित गरेर पठाएको निर्वाचन निर्देशिका प्रस्तुत गरेका हुन् । तर पार्टीको १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिकामा सहमति जुट्न नसकेको स्रोतले बताएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति सदस्यहरुको सुझाव बमोजिम १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका आउने भन्दै महामन्त्री खड्काले प्रस्तुत गरेको निर्वाचन निर्देशिकामा छलफल गरी प्राप्त हुने राय, सुझाव बमोजिम बैठक सकिँदा निर्देशिका पारित गरिने बताए ।
आजको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखक र समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समेत आ आफ्नो समितीको तर्फबाट विवरण पेश गरेका थिए ।
केन्द्रीय समितिको बैठक शुक्रबार पनि बस्नेछ । बिहान ११ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकमा १४ औं महाधिवेशनका बिषयमा छलफल हुने जनाइएको छ ।