२८ साउन, काठमाडौं
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीसहित नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् ।
बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीसहितका मन्त्रीहरुलाई शपथ खुवाएका हुन् । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता केसी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४१ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
उनले आजै ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका छन् । केसीले सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबाट मन्त्री नियुक्त गरेका हुन् । गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चा भने सरकारमा नजाने भएको छ ।
जसपाबाट तीनजना सांसद सुमन शर्मा रायमाझी, पुर्मती ढेँगा र सहसराम यादव मन्त्री बनेका छन् । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका ६ सांसद थिए । तिमध्ये शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा सहभागी भएको भन्दै जसपाले ३ जना सांसदलाई कारवाही गरेपछि अब ३ जनामात्र सांसद छन् । र तिनैजना नयाँ सरकारको मन्त्री बनेका हुन् ।
केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र सांसद अजय शाही र नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी मन्त्री नियुक्त भएका कांग्रेस प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए ।
चौधरी शहरी तथा ग्रामीण विकास, कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजना र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् । अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन ।