२८ साउन, काठमाडौं
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।
अख्तियारको केन्द्रीय कार्यालय टंगाल र प्रदेश कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले बिहीबार प्रतिष्ठानमा छापा मारी सबै कागजपत्र नियन्त्रणमा लिएर छानबिन थालेको हो । प्रहरी उपरीक्षक टेकबहादुर तामाङसहित अख्तियारको केन्द्रीय कार्यालयबाट पाँच र इटहरी कार्यालयबाट एक गरी जम्मा ६ जनाको टोलीले प्रतिष्ठानमा छापा मार्न पुगेको थियो ।
अख्तियारको टोलीले प्रतिष्ठानको लेखा शाखा, खरिद शाखा, स्टोरलगायतका शाखामा गई आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ । छानविनका क्रममा शंका लागेका दस्तावेजहरु नियन्त्रणमा लिने र केही आवश्यक दस्तावेज अध्ययन गर्ने तामाङले जानकारी दिए ।
उनका अनुसार खरिद तथा निर्माणसँग सम्बन्धित विषयमा अनियमितता भएको दाबीका साथ अख्तियारमा उजुरीहरु परेका छन् ।
प्रतिष्ठानका पदाधिकारीहरुले समेत मातृ शिशु भवन, फारमेसी भवन निर्माणमा तोकिएको भन्दा बढी रकममा ठेक्का लगाई आर्थिक अनियमितता गरेको, कोभिड अस्पताल संचालन गर्दा करौडौं रुपैयाँ हिनामिना गरेको, प्रतिष्ठानको अक्सिजन प्लान्ट मर्मतमा लाखौं रुपैयाँ हिनामिना गरेको, आइसीयू, भेण्टिलेटर, बेड खरिदमा अनियमिता गरेको आरोप लगाएका छन् ।