कुलप्रसाद केसी लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त

२८ साउन, काठमाडौं
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् ।

उनलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम बिहीबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । चार दलीय गठबन्धनले प्रदेशसभामा रहेका कूल ८० सदस्यमध्ये ४२ जना सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनमा दाबी पेश गरेका थिए ।

यसअघिका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार प्रदेशसभामा अविश्वासको प्रस्ताव सामना नगरी राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो ३ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

केसीले बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । उनले आजै मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । प्रदेशसभाको कार्यकाल १६ महिना बाँकी छ । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् । जसअनुसार मुख्यमन्त्री केसीले ८ महिना मात्रै कार्यकाल सम्हाल्नेछन् ।

प्रदेशसभामा रोल्पा १ (क) बाट निर्वाचित केसी यसअघि पोखरेल नेतृत्व्को सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here