कञ्चनपुरको कञ्जभोजमा बोर्डर आउट पोस्ट उद्घाटन

२८ साउन, काठमाडौं
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा सशस्त्र प्रहरीको २० औं बोर्डर आउट पोष्ट (बीओपी) उद्घाटन गरिएको छ ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख वीरबहादुर सुनार र प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले संयुक्त रूपमा बीओपीको उद्घाटन गरेका हुन् ।

सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा रहने बीओपीमा २५ जना जवान तैनाथ रहेका छन् । कार्यक्रममा बीओपी राख्न जग्गा दान गर्ने खड्कबहादुर बस्नेतलाई सशस्त्र प्रहरी प्रधान कार्यालयबाट उपलब्ध गराइएको कदरपत्र हस्तान्तरण समेत गरिएको थियो ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक गणपति वीरेन्द्रबहादुर ऐरका अनुसार कञ्चनपुरमा १२९ दशमलव ५ किलोमिटर नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीका २० वटा बीओपी स्थापना गरिएका छन् ।

दोधारा चाँदनी नगरपालिकाको ४० किलोमिटरको सीमा क्षेत्रमा सशस्त्र प्रहरीका पाँच बीओपी छन् । एक बीओपी निर्माणाधीन अवस्थामा छ । चारवटा बीओपी शुभारम्भका तयारीमा छन् । जिल्लाको सीमा क्षेत्रमा २५ बीओपी स्थापना गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here