लुम्बिनीमा बहुमतको नयाँ सरकारका लागि विपक्षी गठबन्धनद्वारा दाबी पेश

२८ साउन, काठमाडौं
लुम्बिनी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले दाबी पेश गरेको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धनले ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनलाई दाबी पेश गरेको हो । माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको उमेदवार बनाइएको छ ।

बुधबार लुम्बिनी प्रदेशसभामा आफूमाथि अविश्वासको प्रस्तावमा छलफल चलिरहेका बेला मुख्यमन्त्री पदबाट शंकर पोखरेलले राजीनामा दिएका थिए । पोखरेलको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुख शेरचनले २४ घण्टाको समय दिएर आज ३ बजेसम्म बहुमतको नयाँ सरकार गठनका लागी आह्वान गरेका थिए ।

समयसीमा सकिएपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) बमोजिम केसीलाई मुख्यमन्त्री नियुक्त गर्नेछन् । कांग्रेस प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले प्रदेशप्रमुखले मुख्यमन्त्री नियुक्त गरेपछि आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी रहेको जानकारी दिए ।

लुम्बिनीमा कांग्रेस र माओवादी केन्द्रले प्रदेशसभाको बाँकी १६ महिना कार्यकालमा ८–८ महिना सरकारको नेतृत्व गर्ने सहमति गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here