अफगान सेना प्रमुख वली मोहम्मद बर्खास्त

२८ साउन, काठमाडौं ।

अफगानिस्तानमा तालिवानसँग युद्ध चर्किएका बेला त्यहाँका सेना प्रमुखलाई सरकारले बर्खास्त गरेको छ । प्रान्तीय राजधानीहरू तालिबानको कब्जामा गएपछि बुधवार अफगान सरकारले त्यहाँका सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको थियो ।

उनी उक्त पदमा गत जुनमा नियुक्त भएका थिए । उनका उत्तराधिकारीले देशभरि बढेको हिंसा र तालिबानको शक्तिसँग जुध्नु पर्नेछ ।

अफगानिस्तानमा एकपछि अर्को सहर नियन्त्रणमा लिइरहेको तालिबानले त्यहाँको दोस्रो ठूलो सहर कान्दहारको एउटा जेललाई आफ्नो कब्जामा लिएर सयौँ कैदीहरूलाई रिहा गरिदिएको बिबिसीले जनाएको छ ।

तालिबानले उक्त जेललाई आफूले नियन्त्रणमा लिएको बताए पनि हालसम्म त्यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन । अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार देशको दक्षिणी भागमा अवस्थित उक्त सहरका ‘गल्ली गल्लीमा लडाइ’ जारी छ ।

हालसम्म ३४ मध्ये ९ वटा प्रान्तीय राजधानीहरूलाई नियन्त्रण गरिसकेको तालिबानले कान्दहारलाई पनि कब्जा गर्न प्रयास गरिरहेको छ ।

रेडक्रसका अनुसार अफगानिस्तानको उक्त दक्षिणी सहरबाट मानिसहरू पलायन भइरहेका छन् । त्यहाँ एक साताभित्र घाइते हुने सर्वसाधारणको सङ्ख्या दोबर भएको छ ।

अफगानिस्तानमा २० वर्षदेखि रहेका अमेरिकी र अन्य विदेशी फौजले छाडेपछि तालिबानले आफ्नो नियन्त्रण बढाउँदै लगेको हो । संयुक्त राष्ट्रसङ्घका अनुसार गत महिना मात्र त्यहाँ १,००० सर्वसाधारण मारिएका छन् ।

परम्परागत रूपमा तालिबान विरोधी रहँदै आएको अफगानिस्तानको उत्तरी सहर मजार–ए–शरीफ पनि तालिबानी हमलाको चपेटामा परेको छ । (बिबिसी)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here