युवा नेताहरुले कांग्रेस सभापतिलाई दलको विधान र संविधान बुझाउने

२८ साउन, काठमाडौं ।

नेपाली कांग्रेसका युवा नेताहरूले संविधान र पार्टी विधान सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने तयारी गरेका छन् ।

संविधान र पार्टी विधानअनुसार सभापति देउवाले थप गरेको कार्यकाल भदौ २३ गते सकिँदैछ । त्यसपछि पार्टी वैधानिकता संकटमा पर्ने देखिएकोले त्यसअघि नै महाधिवेशन गर्न युवा नेताहरूको माग छ ।

सभापति देउवासहित शीर्ष नेतालाई बिहीबार सानेपामा केन्द्रीय समिति बैठक बस्नुअगाडि संविधान र विधान बुझाउने तयारी युवा नेताहरूको छ ।

कांग्रेस नेता रञ्जित कर्णले पार्टी संकटमा पर्न सक्ने देखिएकोले संविधान र विधान सभापतिलगायत शीर्ष नेतालाई बुझाउन लागिएको बताए ।

‘पार्टीको वैधानिकता सकिएर लज्जाको अवस्था नआओस्,’ उनले भने, ‘संविधान र विधान हेरेर निर्णय गर्नुस् भनेर ध्यानाकर्षण गराउन लागेका छौं ।’

कांग्रेसका करिब ५० जना युवा नेताहरूले पार्टीको वैधानिकता सकिन लागेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । उनीहरूले यसबारे संविधानविदहरूसँग पनि बुधबार छलफल गरेका थिए ।

अर्का नेता क्षितिज भण्डारीले पार्टीले वैधानिकता गुमाएको खण्डमा निर्वाचन आयोगसँग भिख माग्नुपर्ने अवस्था आउनेतर्फ नेताहरूले ध्यान दिनुपर्ने बताए ।

‘पार्टीले निर्वाचन आयोगमा वैधानिकताको भिख माग्नुपर्ने हुन सक्छ। उनीहरूले जे पनि निर्णय दिन सक्छन् त्यसैले समयभित्रै महाधिवेशन गरौं,’ उनले भने ।

कांग्रेस विधानअनुसार चार वर्षको अन्तरालमा महाधिवेशन गर्नुपर्छ । विशेष अवस्था देखाए सभापतिले थप एक वर्ष म्याद बढाउन पाउँछन् ।

त्यसपछि संविधानअनुसार थप छ महिना म्याद बढाउन मिल्छ । यी सबै वैधानिक बाटोबाट देउवाले म्याद थपिसकेका छन् ।

कोरोनाको अवधिलाई शुन्य समय मानेर महाधिवेशन असोज वा मंसिरमा गर्ने गरी सार्ने तयारी पनि भइरहेको छ । क्रियाशील विवाद र कोरोना महामारीले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न सम्भव नहुने नेताहरू नै बताउन थालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here