कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

२८ साउन, काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ ।

१४ औं महाधिवेशन केन्द्रित बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी छ ।

महाधिवेशनको कार्यतालिका प्रभावित भएकोले आज केन्द्रीय समिति बैठकमा यसबारे छलफल गरी निर्णय हुने सम्भावना छ ।

यसअघि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न अब सम्भव नदेखिएकोले महाधिवेशन सार्नुपर्ने निष्कर्ष निकालेको छ ।

स्रोतका अनुसार सभापति देउवाले मंसिरमा महाधिवेशन गर्नुपर्ने बताएका छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौमै वडा तहलगायत तल्ला तहका महाधिवेशन सुरू गरेर असोजमा महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

सभापति देउवाको कार्यकाल भदौ २३ गतेसम्म मात्रै छ । त्यसपछि कसरी पार्टीको म्याद थप गर्ने भन्नेबारे भने कांग्रेसले बताइसकेको छैन । यसअघि वरिष्ठ नेता पौडेलले भदौ २३ पछि यो केन्द्रीय समिति नरहने बताएका थिए ।

क्रियाशील सदस्यतामा देखिएको विवाद र कोरोना महामारीले गर्दा भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षमा कांग्रेसका शीर्ष नेता पुगेका छन् । तर महाधिवेशन सारेर कहिले गर्नेमा एकमत देखिएको छैन ।

आज केन्द्रीय समिति बैठक बस्नुअगाडि पनि शीर्ष नेता बैठक गरेर कार्यतालिकाबारे सहमति गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here