जाँच दिने विद्यार्थीलाई कोरोनाको खोप दिइने

२७ साउन, काठमाडौं
सरकारले त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिवि लगायतले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीलाई तत्काल कोभिड–१९ विरुद्धको खोप दिने सचिवस्तरीय निर्णय गरेको हो । मन्त्रालयले विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा खोप केन्द्र र मिति निर्धारण गरी एस्ट्राजेनेका तथा भेरोसेल खोपको पहिलो मात्र दिन मातहतका निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलका अनुसार काठमाडौंमा प्रहरी अस्पताल पानीपोखरी, सैनिक अस्पताल छाउनी, सशस्त्र प्रहरी अस्पताल बलम्बु र राधा स्वामी सत्संग केन्द्र बसुन्धाराबाट खोप लगाउने व्यवस्था मिलाइएको छ । खोप लगाउने विद्यार्थीले प्रवेशपत्र अनिवार्य रुपमा लैजानुपर्नेछ ।

मंगलबार विद्यार्थी संगठनहरुले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर परीक्षार्थीहरुलाई खोप व्यवस्था मिलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

त्रिविलगायत विश्वविद्यालयले विद्यार्थीलाई भौतिक रूपमै परीक्षा केन्द्रमा उपस्थित गराएर परीक्षा लिइरहेका छन् । भौतिक उपस्थितीमा परीक्षा लिंदा कोरोना संक्रमणको जोखिम झन बढेको भन्दै विरोध समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here