लुम्बिनी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका लागि आह्वान

२७ साउन, काठमाडौं
लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

मुख्यमन्त्री पदबाट शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । बहुमतको सरकार गठनका लागि २४ घण्टाको समय दिइएको छ ।

‘संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मिति २०७८ साउन २८ गते बिहीबार अपरान्ह ४ बजेभित्र दावी पेश गर्न प्रदेश प्रमुखले प्रदेसभामा प्रतिनिधत्व गर्ने सबै दलहरुलाई आह्वान गर्नुभएको छ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

मुख्यमन्त्री पोखरेलले बुधबार राजीनामा दिएका थिए । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्रीविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावमाथि प्रदेशसभामा छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए ।

मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गरेका छन् ।

लुम्बिनी प्रदेशमा हाल ८० सदस्य छन् । बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ । विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् । एमालेका ३८ जना मात्र छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here