२७ साउन, काठमाडौं
उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भनि ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डोटी केआइसिंह गाउँपालिका–६ स्थायी घर भई हाल कीर्तिपुर नगरपालिका–७ बस्ने २६ वर्षीय कुशल भट्ट भनिने केशवराज भट्ट रहेका महानगरीय अपराध महाशाखाले जनाएको छ । महाशाखाको टोलीले भट्टलाई कलंकी स्युचाटारबाट पक्राउ गरेको जनाएको छ ।
उनले निजामती कर्मचारीको पोशाक लगाएर उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै बिभिन्न व्यक्तिहरुलाई अनेक बहानामा पारी ठगी गरेको खुलेको छ । भट्ट यसअघि साइबर क्राइम र ठगी मुद्दामा जिल्ला अदालतमा एक वर्ष कैद र ३० हजार जरिवानाको सजाय भुक्तानी गरिसकेको व्यक्ति रहेको महाशाखाले जनाएको छ ।
उनलाई २०७५ चैत्र २६ गते महाशाखाले पक्राउ गरेको थियो । भट्टले कतिपय व्यक्तिहरुलाई सामाजिक सञ्जालमार्फत् आफू परराष्ट्र मन्त्रालयको सह–सचिव समेत हुँ भनि ठगी गर्दै आएकोसमेत खुलेको र थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।