२६ साउन, काठमाडौं
जनकपुर प्रहरीले एसिड पीडित आरती साहलाई नियन्त्रणमा लिएको छ ।
आफूमाथि श्रीमानले एसिड प्रहार गरेको घटनामा अदालतले एसिड विक्रेतालाई सफाई दिएको प्रति आपत्ति जनाउंदै धनुषा जिल्ला अदालत पुगेकी आरतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सोमबार अदालतले आरतीमाथी एसिड प्रहार गर्ने उनका श्रीमान जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहलाई दोषी ठहर गरेपनि एसिड बेच्ने नागेन्द्र साहलाई सफाइ दिएको थियो ।
आरती काठमाण्डौंमा बस्दै आएकी थिईन् । एसिड बिक्रेता नागेन्द्रलाई अदालतले सफाइ दिएपछि जनकपुर पुगेकी थिइन् । नागेन्द्रलाई अदालतले सफाइ दिएर आफूलाई अन्यायमा पारेको गुनासो गरेकी छिन् । उनले न्याय नपाएसम्म लडिरहने बताएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र बस्नेतले आरतीलाई सोधपुछ गरिएको बताएका छन् ।
सरकारी वकिलको कार्यालयले भने एसिड विक्रेतालाई सफाई दिने जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने तयारी गरेको छ । जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले जिल्ला अदालतको यसै फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गरिने बताएका छन् ।
गत कात्तिक २९ गते दीपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर सञ्जीवले श्रीमती आरती साह र छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।