उपत्यकामा ‘नो हर्न’ अभियान सुरु, जथाभावी हर्न बजाए कारबाही

२६ साउन, काठमाडौं
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा फेरी ‘नो हर्न’ अभियान सुरु गरेको छ । अभियान प्रभावकारी बनाउन महाशाखाले स्टिकर टाँस्न थालेको छ ।

उपत्यकामा २०७४ वैशाख १ गते हर्न निषेधित क्षेत्र घोषणा गरिएपछि सवारीसाधन चालकहरूले आवश्यक नपरी हर्न बजाउन कम गरेका थिए । पछिल्ला दिन क्रमशः हर्न बजाउने क्रम बढ्दै गएकाले फेरि अभियान सुरु गरिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराइले बताए । उनका अनुसार उपत्यकाका ३८ ट्राफिक कार्यालयले एकसाथ ५० हजार स्टीकर टाँसेर अभियान थालिएको छ ।

अति आवश्यक नपरी हर्न नबजाउन अनुरोध गर्दे एसएसपी भट्टराईले अनावश्यक रूपमा हर्न बजाउँदा ध्वनि प्रदूषण हुने भएकाले जथाभावी र आवश्यक नपरी हर्न बजाएको पाइएमा कारबाही गरिने चेतावनी दिएका छन् ।

यसैवीच नेपाल प्रहरीले कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि संचालन गरेको ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३१ हजार २ सय २९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित सञ्चालित ‘तपाईंको मास्क खै ?’ कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ५ लाख ९१ हजार ७ सय ४० जनालाई निःशुल्क मास्क वितरण गरिएको नेपाल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here