२६ साउन, काठमाडौं
सभामुख अग्नि सापकोटाले दार्चुला घटनाबारे यथार्थ जानकारी दिन सरकारको ध्यानाकर्षण गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख सापकोटाले जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको घटनाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै सरकारलाई रुलिङ गरेका हुन् ।
‘नेपालबाट भारत जाने क्रममा महाकाली नदी तुइनबाट पार गर्दैगर्दा तुइनबाट खसेर वेपत्ता हुनुभएका जयसिंह धामीको विषयमा मेरो पनि गम्भिर ध्यानाकर्षण भएको छ । उक्त घटनाको सत्यतथ्यय पत्ता लगाई घटनाको विस्तृत विवरणसहितको जानकारी यथाशक्य छिटो प्रतिनिधिसभामा दिन नेपाल सरकारलाई ध्यानाकर्षण गराउँछु’ सभामुख सापकोटाले भने ।
गत साउन १५ गते नेपालबाट भारत जाने क्रममा दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन चुडाइदिएकाले धामी नदीमा बेपत्ता भएको बताएका छन् ।
सरकारी टोली घटनाबारे अनुगमन गरेर काठमाडौं फर्किसकेको छ । गृह मन्त्रालयले दार्चुला घटना छानबिन गर्न सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिलाई १० दिनको समय दिइएको छ ।