२६ साउन, दार्चुला ।
जिल्लाको लेकम गाउँपालिकाको अस्थायी कार्यालय खरकडामा १० दिनदेखि तालाबन्दी गरिएको छ । गाउँपालिकाको केन्द्र रातामाटाबाट नै कार्यालय सञ्चालन गर्न पटक–पटक माग गर्दासमेत खरकडाबाट रातामाटा कार्यालय नसारेको भन्दै तत्काल कार्यालय रातामाटाबाट सञ्चालन गर्न माग गरी लेकम गाउँपालिका वडा नम्बर १, २, ५ लगायत वडाबाट गएका स्थानीयहरूले गत शुक्रबार तालाबन्दी गरेका हुन् ।
लेकम गाउँपालिकाकै गाउँकार्यपालिका र गाउँ सभाबाट रातामाटामा केन्द्र राख्ने निर्णय गरिएको छ । गाउँपालिकाकै सिफारिस र नेपाल सरकारको निर्णयअनुसार नेपाल सरकारको राजपत्रमा समेत लेकम गाउँपालिकाको केन्द्र रातामाटा भनेर तीन वर्ष पहिले नै प्रकाशित भइसकेको छ ।
गाउँपालिका कार्यालय निर्माणका लागि रातामाटामा विगतमै स्थानीय पाठक परिवारले जग्गादान गरेका छन् । भवन निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको, माटो परीक्षण गरिएको, प्रशासकीय भवन निर्माणका लागि टेन्डर र सम्झौता भइसकेकाले रातामाटाबाट छिटो कार्यालय सञ्चालन गर्न स्थानीयले माग गरेका छन् ।
गाउँपालिकाको कार्यालय रातामाटा नसार्दासम्म तालाबन्दी जारी रहने कैनोडाका स्थानीय राजेश जोशीले बताए ।
अहिलेसम्म लेकम गाउँपालिकाका कागजपत्रमा गाउँपालिकाको कार्यालय रातामाटा भनेर उल्लेख भए पनि कार्यालय सञ्चालन भने गल्लाकेदार मावि खरकडाबाट नै भइरहेको छ ।
अबको कार्यपालिका बैठक रातामाटामा बस्नुपर्ने र रातामाटाबाट नै प्रशासकीय कामकाज हुनुपर्ने आफूहरूको माग रहेको लेकमका स्थानीय दीपक विष्टले बताए ।
जनप्रतिनिधिहरूमा नै गाउँपालिकाको केन्द्रका विषयमा मतभेद देखिएकाले रातामाटामा कार्यालय सार्न ढिलाइ भइरहेको स्रोतले जनाएको छ । लेकम–४ का वडाध्यक्ष महेन्द्रराज जोशीले तालाबन्दीको औचित्य नभएको प्रतिक्रिया दिए ।
विगतदेखि नै गाउँपालिका र जनप्रतिनिधिकै पहल, सहमति तथा निर्णयअनुसार रातामाटामा केन्द्र स्थापनादेखि भवन निर्माणका लागि सम्झौतासम्मका काम भइरहेकाले कार्यपालिका बैठकपछि कामकाज सञ्चालन रातामाटाबाट हुने गाउँपालिका अध्यक्ष परमानन्द जोशीको भनाइ छ ।
रातामाटाबाट कार्यालय सञ्चालन गर्नका लागि गाउँकार्यपालिकाबाट निर्णय गरेर कामकाज सुरु गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
गाउँपालिकाको केन्द्र रातामाटा कायम गर्न विगतदेखि विभिन्न चरणमा गाउँकार्यपालिकाबाट सर्वसम्मत निर्णय भएकाले रातामाटा केन्द्र स्थापना हुनेमा शङ्का नगर्न उनले आग्रह गरे ।