२५ साउन, काठमाडौं
रेल्वे विभागका महाप्रबन्धक गुरु भट्टराईले सरकारले राजनीतिक विषयमा स्पष्टीकरण सोधेकाले त्यसको समाधान राजनीतिक रुपमै खोजिने बताएका छन् ।
भट्टराईलाई आचरण विपरीतको कार्य गरेको भन्दै गत १९ साउनको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरणमा सरकाले गर्नुपर्ने काम इमान्दारिताका साथ नगरी नकारात्मक टिप्पणी गरेको आरोप लगाइएको छ ।
आफूलाई पदबाट हटाउन सरकारले सोधेको स्पष्टीकरणले नेपालमा रेल सेवा अनिश्चित हुने उनले चेतावनी समेत दिएका छन् । सोमबार पत्रकार सम्मेलन गरी भट्टराईले आफूलाई सोधिएको स्ष्टीकरणमा कार्य सम्पादनबारे केही पनि विषय समावेश नभएको गुनासो समेत गरेका छन् ।
सार्वजनिक निकायमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड २०७७ को दफा ९ को खण्ड ’घ’ बमोजिम खराब आचरण र पदीय जिम्मेवारी पूरा नगरेकाले पदबाट किन नहटाउने भनी प्रश्न नगरिएकोमा उक्त दफा र खण्डमा स्पष्टीकरण सोधिएका विषय समावेश नभएको भट्टराईले दाबी गरेका छन् ।