२५ साउन, काठमाडौं
प्रधानसेनापति महारथी पूर्णचन्दै थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई जिम्मेवारी हस्तान्तरण गरेका छन् ।
सोमबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति थापा र रथी शर्माबीच औपचारिक बुझबुझारथ सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मङ्गलबारदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकिसकेकी छिन् ।
प्रधानसेनापति थापा आफ्नो तीनवर्षे कार्यकाल सकिनु एक महिनाअघि भोली मङ्गलबारदेखि घरबिदामा बस्दैछन् । घरबिदामा बस्नु एक दिनअघि नै थापाले बलाधिकृत रथी शर्मालाई कमाण्ड बुझ–बुझारथ गरेका हुन् ।
शर्माले आगामी भदौ २५ गतेदेखि नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा सैनिक नेतृत्व सम्हाल्नेछन् ।