२५ साउन, काठमाडौं
कोरोना भाइरसविरुद्धको खोप खरिदमा अनियमितता गर्नेहरूमाथि कडा कारबाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसद राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले कोरोनाविरुद्ध खोप खरिदमा अनियमितता भए/नभएको अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
खोप खरिदमा भएको अनियमितताबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सचेत गराइएको समितिकी सभापति निरुदेवी जैरूले बताइन् । बैठकमा समितिका सदस्यहरूले सबै नागरिकलाई कोभिड खोप लगाउने व्यवस्था गर्न ढिलाई नगर्न सरकारलाई सचेत गराएका थिए ।
छलफलमा सहभागि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोभिडको तेस्रो लहर आउन नदिन पनि सरकारले विभिन्न उपायको खोजिरहेको जानकारी गराएका छन् ।