मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सर्वोच्चमा रिट

२५ साउन, काठमाडौं
नेकपा एमालेले लुम्बिनी प्रदेशसभाका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ ।

प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका प्रदेशसभा सदस्य लीला गिरीले सोमबार रिट निवेदन दर्ता गराएका हुन् । रिटको प्रारम्भिक सुनुवाइको लागि भोलिलाई पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए ।

रिट निवेदनमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रुपमा पोखरेल गत वैशाख १९ गते नियुक्त भएको दाबी गर्दै दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गरिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले यही साउन २७ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । विशेष अधिवेशनमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here