देउवाले उपप्रधानमन्त्री नदिने भएपछि उपेन्द्र यादव बिचल्लीमा

२५ साउन, काठमाडौं ।

वर्तमान सरकारको सत्ता साझेदार दलमध्येको एक जनता समाजवादी पार्टिका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री पाउने लोभमा सरकारमा सामेल हुने निर्णय गरेका थिए ।

तर अहिले प्रधानमन्त्री शेरबहादुर देउवा हच्किएपछि उनी असमञ्जसमा परेका छन् । आफू सरकारमा सहभागी हुन नपाएपछि उनी सरकारमा सहभागी नहुने कारण खोज्दै छन् । स्रोतका अनुसार आफूमात्र नभइ जसपालाई नै सरकारमा सहभागी नहुन दिने रणनीतिमा यादव लागेका छन् ।

तर उनलाई यो उपाय सहज छैन । महन्थ ठाकुर पक्षका धेरै सांसदलाई मन्त्री पदकै लोभ देखाएर उनले आफ्नो पक्षमा तानका थिए ।

ठाकुर र यादव पक्षको आधिकारिकता विवादमा यादवलाई साथ दिनेहरुले मन्त्री पदको आस गरेर बसेका छन् । उनीहरु जसरी पनि सरकारमा जानुपर्ने अडानमा छन् । मन्त्री पद जसरी पनि चाहिने उनीहरुको माग छ ।

सरकारमा जाने वा नजाने विषयलाई लिएर जसपाभित्रै फेरि पनि गुटबन्दी देखिएको छ । दुईथरी विचार व्यक्त भइरहेको छ । दल नै यस विषयमा दोधारमा परेको छ ।

पार्टि स्रोतका अनुसार सरकारमा नजाने उपेन्द्रको योजनालाई पार्टिभित्रै बाबुराम भट्टराई र अशोक राईले असफल पार्न चाहिरहेका छन् । ‘उपेन्द्रको रणनीति असफल पार्न बहुमतबाट सरकारमा पार्टिलाई पठाउने निर्णय गर्ने राई र भट्टराईको दाउ छ,’ एक नेताले प्रदेशपालिकासँग भने ।

मन्त्री छान्न समस्या
सरकारबाट पछि हट्ने उपेन्द्रको निर्णयसँगै यस अघि मन्त्री बन्न पाइने लोभमा ठाकुर पक्षबाट यादव पक्षमा गएका नेताहरु बिचल्लीमा परेका छन् । उपेन्द्रलाई समर्थन गरेका महेन्द्र राय यादव र मृगेन्द्र यादवको मन्त्री बन्ने सपना तुहिएको छ ।

मृगेन्द्रले प्रतिनिधि सभाको निर्वाचनम पराजय भोगेका थिए । यसै कारण उनको सम्भावना क्षीण भएको छ भने ‘प्रिपेड मन्त्री’ भनेर बदनाम महेन्द्र यादवलाई मन्त्री बन्नबाट रोक्न पार्टिभित्रैबाट प्रयास भइरहेको छ ।

भर्खरै चरम आलोचना खेपेर सत्ताच्यूत भएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीपछि सत्तामा आएका शेरबहादुर देउवा बदनामीबाट डराएका छन् । उनले जसपालाई स्वच्छ छवि भएका नेताहरुको नाम मन्त्रीमा सिफारिस गर्न भनेका थिए । जसपाले साँच्चै स्वच्छ छवि भएकालाई पठाउने हो भने महेन्द्रको नाम काटिने निश्चित छ ।

नाम सिफारिस गर्ने विषयमा पार्टिभित्रै पनि महेन्द्रको नाममा सहमति छैन । बाबुराम भट्टराई र अशोक राईले महेन्द्रको नाममा आपत्ति जनाएका थिए ।

मन्त्री बनाउने विषयमा जसपा एकमत देखिएको छैन । अध्यक्ष यादवलाई सहमति जुटाउन र मतैक्यता कायम गर्न धौ धौ परेको देखिएको छ । भट्टराई र राईले राजेन्द्र श्रेष्ठको नाममा सहमति जनाए पनि यसमा मधेसी नेता तथा सांसदहरुको आपत्ति छ ।

मधेसी नेताहरुले उल्लेख्य भोट पनि ल्याउन नसकेको र जनाधारसमेत बलियो नभएका श्रेष्ठलाई मन्त्री बनाउनु नहुने भन्दै विरोध गरिरहेका छन् । उनीहरुको विरोधकाबीच जसपाले कसरी मन्त्री बन्नेहरुको नाम टुंग्याउने निश्चित छैन ।

पार्टिका तत्कालीन अर्का अध्यक्ष ठाकुरको साथ छाडेर मन्त्री बन्न लोभिएकाहरुले पनि मन्त्री पाउने सम्भावना न्यून हुँदै गएको छ । उपेन्द्रलाई साथ दिने १० सांसदहरूमध्ये १ जनाले मात्र पद पाउने भएका छन् । त्यसमा पनि उनीहरुले राज्यमन्त्रीमै चित्त बुझाउनुपर्ने देखिएको छ ।

जसपाका विवादका कारण पनि देउवाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरिरहेका छन् । जसपाले बेलामा निर्णय नदिँदा देउवा पनि अलमलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here