२५ साउन, दैलेख ।
जिल्लाको नौमूले गाउँपालिकाका जनतालाई वितरण गर्ने भन्दै पालिकाले खरिद गरेको चामल दुई वर्ष गोदाममै थन्कियो । दुई वर्षअघि असिना पीडित जनताका लागि भनेर गाउँपालिकाले खाद्य डिपो दैलेख अन्तर्गत पालिकाको रकममा लाखौँको चामल खरिद गरेको थियो ।
ढुवानी भाडा पालिकाले बेहोरेको र जनतालाई सस्तोमा चामल वितरण गर्ने अभियान अन्तर्गत लगिएको चामल मध्ये बचेको चामल कुहिएपछि स्थानीय प्रशासन र प्रहरीको रोहवरमा एक सय ५५ बोरा चामल गाडिएको छ ।
दुई वर्षदेखि गोदाममै थन्किएपछि एक सय ५५ बोरा चामल कामै नलाग्ने अवस्थामा पुगेको थियो । स्थानीयले खवरदारी गरेपछि गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरीको रोहवरमा चामल गाडिएको छ ।
तत्कालीन समयमा नौमूले गाउँपालिकामा असिना परेर मकै र धान बाली नष्ट भयो, स्थानीयहरू भोकमरीको चपेटामा पर्न सक्ने अवस्था आएपछि दुई वर्ष अघिदेखि पालिकाले जनता बचाउने अभियान अन्तर्गत सस्तो मूल्यमा चामल खरिद गरेर पालिकाका जनतालाई वितरण अभियान पनि थाल्यो ।
करिब पाँच ट्रक भन्दा बढी चामल नौमूले लगिएको थियो, पालिका नजिकै गोदाम बनाएर वडा वडामा चामल वितरण गरिएको नौमूले गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले आफूले कार्यालय प्रमुखको जिम्मेवारी पाउनुभन्दा करिब दुई वर्षअघिको विषय भएको बताउँदै बिग्रेको चामललाई मुचुल्का उठाएर बिर्सजन गरिएको बताए ।
पालिकामा विभिन्न खाले समस्याहरु, कोभिड समस्या निरन्तर रहिरहेकोले अति आवश्यकता परेको बेलामा चाहिने होला भन्दै पालिकाले स्टक राखेको हो धेरै समय गोदाममै रहेपछि बिग्रेको बताएका छन् ।
दुई वर्षसम्म जनतालाई चामल वितरण नगरेर राखिनुमा पालिकाको कमजोरी भएको स्थानीयको आरोप छ । जनताको करको रकमबाट आएको पैसा हो । गरिब र निमुखा जनतालाई समयमै वितरण गर्नुपर्नेमा पालिकाकै कमजोरीका कारण जनताले चामल नपाएको र लाखौँको चामल कुहिएको प्रति स्थानी बासिन्दाहरूले आक्रोश पोखेका छन् ।
लापरबाही गर्ने जो कोहीलाई पनि कारबाही गर्नुपर्ने माग स्थानीय बासिन्दाहरूले गरेका छन् । जनताका लागि भनेर ल्याएको भए किन बाँडिएन् ? कसको आदेशमा चामल राखिएको हो ? यो विषयमा व्यत्तिगत स्वार्थ हाबी भएकोले यसको जिम्मेवारी अध्यक्ष र कार्यपालिका सदस्यहरुले लिनुपर्ने एक स्थानीयको भनाइ छ ।
मैले मेरो घरमा चामल राखेको हैन : अध्यक्ष भदे बुढामगर
जनताकै लागि हामीले हजारौँ बोरा चामल वितरण ग¥यौँ, असिना पीडितदेखि, कोरोना महामारीका बेला आइसोलेसन, क्वारेन्टाइनमा बसेका जनतालाई पालिकाले खरिद गरेको चामल प्रयोगमा ल्याएका हौँ । पालिकामा समस्या धेरै भएपछि चामल ल्याउँदा, पल्टी गर्दा, एक स्थानबाट अर्को स्थानमा सार्दा भिजेका बोराहरू र गोदामको मुनि परेका बोराहरू मध्ये केही चामल बिग्रेको अवस्था आएको हो । हामीले नमस्ते होटेलको पछाडि गोदाममा राख्दा हजारौँ बोरा मध्ये केही चामल बिग्रिन पुगेछ, मैले चामल घरमा लगेर राखेको भन्ने विषय गलत हो । व्यवस्थापनमा केही कमजोरी भएको होला तर मैले व्यक्तिगत स्वार्थमा चामल प्रयोग गरेको छैन, जनताकै लागि ल्याएका हौँ, व्यक्तिगत कमजोरी देखाउने काम कहीँ कतैबाट भएकोमा मलाई दुःख लागेको छ ।