२५ साउन, काठमाडौं ।
कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई सोमबार (जेठ २५ गते) देखि दोस्रो मात्रा लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंले सार्वजनिक गरेको तालिका अनुसार एस्ट्राजेनका खोप लगाउनका लागि काठमाडौंमा १ सय ४४ केन्द्र तोकिएको छ ।
काठमाडौ उपत्यकाको काठमाडौं महानगरपालिका, चन्द्रागिरी, नागार्जुन, तारेश्वर, दक्षिणकाली, टोखा, बुढानिकण्ठ, गोकर्णेश्वर, शंकापुर र कागेश्वर नगरपालिका र वडा कार्यालयबाट खोप लगाउन सकिने जनाएको छ ।
त्यसैगरी, राधास्वामी आइसोलेसन सेन्टर, शस्स्त्र प्रहरी बल, वीर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसृती तथा स्त्रीरोग अस्पताल लगायतका अस्पतालबाट खोप लिन सकिने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
६५ बर्षभन्दा माथिका नागरिक र कोभिसिल्ड खोप पहिलो मात्रा लगाएका नागरिकलाई मात्रै खोेप लगाउन सकिने कार्यालयले प्रष्ट्याएको छ । दोस्रो मात्रा खोप लगाउँन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड अनिवार्य रूपमा लैजानुपर्ने उल्लेख गरिएको छ ।
त्यसका साथै विद्युती दर्ता गरेको प्रिन्ट वा फोटो सहितको नम्बर आवश्यक पर्ने उल्लेख गरेको छ ।
स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी स्वास्थ्य कार्यालयले जारी सूचनामा उल्लेख गरिएको छ ।