२५ साउन, काठमाडौं ।
कोरोना जोखिमका कारण उत्पन्न भएको समस्याहरु समाधानका लागि पहल गरिदिन बंगलादेशमा मेडिकल अध्ययनरत विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
शनिबार नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन, बंगलादेशका अध्यक्ष नवीन यादवको नेतृत्वमा पीडित विद्यार्थीहरुले प्रधानमन्त्री देउवालाई भेटेर ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
कोरोनाको विषम परिस्थितिमा पनि बंगलादेशका केही कलेजहरुमा परीक्षा र इन्टनर्सिप बाँकी नै रहेको र सम्बन्धित कलेजहरुले बोलाइरहेको अवस्था छ । तर नेपाली विद्यार्थीहरुले खोप र पीसीआर रिपोर्ट नेगेटिभ लिएर जाँदा पनि होटेल क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था छ ।
सो नेपाली विद्यार्थीहरुको आर्थिक क्षमताले नभ्याउने भएकोले विद्यार्थीहरुले सम्बन्धित कलेजकै होस्टेल क्वारेन्टाइनमा बसोबासको लागि व्यवस्थापन मिलाइदिन हुन प्रधानमन्त्रीसँग आग्रह गरेको अध्यक्ष यादवले बताए ।
यसका साथै भ्याक्सिन लगाउन नपाएका र बंगालदेशमा रहेका नेपाली विद्यार्थीहरुलाई यथाशीघ्र भ्याक्सिनको पहल गरिदिन समेत ध्यानाकर्षण पत्रमा उल्लेख छ । हाल बंगलादेशमा ५ हजारको हाराहारीमा नेपाली विद्यार्थीहरु विभिन्न विषयमा अध्ययनरत छन् ।
पिजी अध्ययनरत चिकित्यसकहरुको उचित मूल्याँकन गरी अन्य देशको नागरिक सरह स्टेपहिन्डको ब्यवस्थाकोलागि आवश्यक पहल गरिनदिनु पर्ने, एमबिबिएस र बिडिएस इन्टर्नसिप गरिरहेका नेपाली इन्टर्न डक्टरहरुको उचित मूल्याँकन गर्दै इन्टर्नसिप पेमेन्टको ब्यवस्थाको निम्ति पहल गरिदिनु पर्ने, बंगलादेश सरकारले नेपाली विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छात्राबृत्ति पाउने प्रकृया र मापदन्ड बारे बैज्ञानिक ब्यवस्था गरिनु पर्ने लगाएतका माग रहेका छन् ।
यसका साथै विद्यार्थीहरुले बुझाएको ध्यानाकर्षणपत्रमा विद्यार्थी भिसा एक्सटेन्सनमा देखिएका अनियमितताहरको समेत छानविन नेपाल सरकारले गरी समस्या समाधानकोलागि ध्यानाकर्षण गराएका छन् ।