२४ साउन, काठमाडौं ।
नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार सोमबार बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ ।
उक्त बैठकपछि सोमबार नै केन्द्रीय कमिटी बैठक राखिएको उनले जानकारी दिए ।
स्थायी र केन्द्रीय कमिटीको बैठक तुलसीलाल स्मृति भवनमा बस्ने तामाङले बताए । एमालेले आइतबारका लागि यी बैठक बोलाए पनि पार्टी एकताका पहलका लागि भन्दै एक दिन बैठक सारिएको छ ।
एमालेमा लामो समयदेखि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच विभिन्न विषयमा कुरा मिलेको छैन ।
पछिल्लो समय नेता नेपालसहित एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई गत साउन ३ मा विश्वासको मत दिएका थिए ।
पार्टी एकताका लागि पहल भइरहेको दुबै पक्षका नेताहरू बताउँछन् । तर दुबै पक्षका स्थायी र केन्द्रीय कमिटी बैठक भिन्नाभिन्नै रूपमा भइरहेका छन् ।