दुई प्रान्तीय राजधानी तालिवानको नियन्त्रणमा

२४ साउन, काठमाडौं ।

अफगानिस्तानमा विद्रोही समूह तालिबानले दुई प्रान्तिय राजधानीमा आफ्नो नियन्त्रणमा लिएका छन् ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार शनिबार तालिबानहरू जजजान प्रान्तको राजधानी शेबेरघान कब्जामा लिएका हुन् । उक्त सहरमा तालिबानहरूले दश दिनदेखि आक्रमण गरिरहेका थिए ।

शनिबार दिउँसो १ बजेतिर सरकारी सुरक्षा फौजले सहर छोडेका थिए । उनीहरूले अहिले शेबेरघानको विमानस्थलमा बसेका छन् । विमानस्थलबाहेक सहरका अरू सबै ठाउँमा तालिबानहरूको नियन्त्रण छ ।

गत शुक्रबार तालिबानहरूले पहिलो पटक प्रान्तीय राजधानीमा कब्जा जमाएका थिए । इरानसँगको सीमा जोडिएको दक्षिणी निमरोज प्रान्तको राजधानी जारान्जलाई उनीहरूले नियन्त्रणमा लिएका थिए ।

तालिबान लडाकुहरू शनिबार साँझ नै उत्तरी प्रान्त कुन्दुजको राजधानी कुन्दुजमा पसेका छन् । त्यहाँ अहिले तालिबान र सरकारी सुरक्षाकर्मीबीच भिडन्त भइरहेको छ ।

संयुक्त राज्य अमेरिकाले तालिबानहरूलाई रोक्न जजजान प्रान्तमा बम खसाल्ने जहाज बी–५२ पठाएको छ । शनिबार साँझ साढे ६ बजेतिर सेबेरघानमा उक्त जहाजले तालिबानलाई लक्षित गरी बम खसालेको थियो । यसबाट तालिबानलाई ठूलो क्षति भएको दाबी गरिएको छ ।

यसैबीच अफगान एयर फोर्सका एक जना पाइलटको तालिबानहरूले गरेको बिस्फोटम परी मृत्यु भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार शनिबार दिउँसो अमेरिकी सेनाले तालिम दिएका एयर फोर्सका पाइलट हमिदुल्लाह आजिम काबुलमा गरिएको बम बिस्फोटमा मारिएका हुन् ।

प्रान्तीय राजधानीहरू कब्जा गरिरहेको तालिबानका लागि सबैभन्दा ठूलो डर एयर फोर्सको छ । त्यसमा पनि अमेरिकी र नाटो सैनिकबाट तालिम लिएकाहरूलाई उसले निशाना बनाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here